धनकुटा, आइतबार (मंसिर …) — सीमान्तकृत आठपहरिया समुदायको प्रमुख सांस्कृतिक चाड वडाङमी (मंसिरे) अन्तर्गत आज आइतबारदेखि तीर्थयात्रा सुरु भएको छ। समुदायका सदस्यहरू बिहानैदेखि धनकुटाबाट पैदल यात्रामा निस्किएर सुनसरीस्थित वराह क्षेत्रतर्फ प्रस्थान गरेका छन्।
वर्षको तीन चाडमध्ये मंसिरे वडाङमीलाई आठपहरिया समुदायले सबैभन्दा ठूलो र पवित्र पर्वका रूपमा मनाउँछन्। यो पर्व दुःखबाट मुक्त हुने, जेठो छोरो जन्मिएकोमा खुसी मनाउने र नयाँ घर निर्माणको उत्सवका रूपमा पनि चिनिन्छ।
आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाका अनुसार, यात्रुहरू आज साँझ साँगुरीगढी–९ आहाले र भञ्ज्याङ (सिमलवास) क्षेत्रमा वास बस्ने छन्। उनीहरूले भोलि सोमबार वराह क्षेत्र पुगेर कोकाहा खोलामा कपाल र दाह्री खौरिएर स्नान गर्ने, वराह भगवानको दर्शन गर्ने र त्यसपछि सोही स्थानमा राति बस्ने परम्परा छ। मंगलवार देउता लिएर फर्की धनकुटाको मूलघाटमा वास बसेर बुधवार घर पुग्ने चलन छ।
धनकुटामै रहेका समुदायका सदस्यहरूले भने मंगलवार मार्गा पूजा गर्ने तयारी गरेका छन्। बुधवार पूर्णिमाको दिन घर फर्किएपछि ‘दुःखको कर्म फुकाउने’, भोज आयोजना गर्ने र नाचगान गर्ने परम्परा छ, जसले औँसीसम्म निरन्तरता पाउँछ।
वडाङमी पर्वको अवसरमा आठपहरिया समुदायका हुम्बारक, छिर्लिङे र खावाडो तीन पाछाका सदस्यहरूले डल्ले नाच प्रस्तुत गर्ने प्रचलन पनि आजदेखि सुरु भएको छ।

Comments
Post a Comment