कुखुरा फार्ममा फाउल पोक्स संक्रमण, पशु चिकित्सकद्वारा सतर्कता सुझाव






कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित एक कुखुरा फार्ममा कुखुरामा ‘फाउल पोक्स’ नामक भाइरल रोगको संक्रमण पुष्टि भएको छ। स्थानीय किसानले पालेका कुखुरामा रोगका लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण देखिएको हो।


फाउल पोक्स, जसलाई एभियन पोक्स पनि भनिन्छ, कुखुरा तथा अन्य पन्छीमा देखिने संक्रामक भाइरल रोग हो। यस रोगबाट संक्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि र पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिनुका साथै खानामा रुचि नदेखाउने, कमजोर हुने, तौल घट्ने र अण्डा उत्पादनमा कमी आउने लक्षण देखिन्छन्। केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ बन्ने हुँदा सास फेर्न कठिनाइ हुने र मृत्युदरसमेत बढ्न सक्ने पशु चिकित्सकहरू बताउँछन्।


संक्रमण देखिएको फार्मका सञ्चालकलाई कुखुराको रोगप्रतिरोधात्मक क्षमता बढाउन मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग गर्न सुझाव दिइएको छ। पशुपन्छी शाखाका पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार यस्ता औषधिले कुखुराको स्वास्थ्य सुधार्न र मृत्युदर घटाउन सहयोग पुर्‍याउँछ।


अन्य फार्ममा रोग फैलिन नदिन किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यो रोग संक्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत सर्न सक्ने जनाइएको छ।


पशुपन्छी शाखाले किसानलाई संक्रमित कुखुरालाई छुट्टै राख्न, फार्मको नियमित सरसफाइ गर्न, लामखुट्टे तथा कीरा नियन्त्रण गर्न र आवश्यकताअनुसार फाउल पोक्सविरुद्धको खोप प्रयोग गर्न अनुरोध गरेको छ। साथै, रोगको आशंका लाग्नेबित्तिकै नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन पनि आग्रह गरिएको छ।


फाउल पोक्स मानिसमा नसरने भएकाले यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपार्ने स्पष्ट पारिएको छ।







Comments