प्रिय Gen Z: तपाईंहरूको देश कस्तो हुनुपर्छ? – बालेन साह

 बालेन साहले Gen Z लाई सम्बोधन गर्दै भोलिको स्वतःस्फूर्त र्‍यालीलाई समर्थन जनाएका छन्। उहाँले युवालाई कस्तो नेपाल चाहिन्छ भनेर सोध्दै योग्यता, शिक्षा, सेवा र भविष्यमा आधारित देश बनाउनको लागि युवाको आवाज महत्त्वपूर्ण भएको बताएका छन्।


Gen Z को स्वतःस्फूर्त र्‍यालीमा युवाको आवाज र सपनाबारे बालेन साहको सन्देश”



भोलिको र्‍याली तपाईंहरूको हो।

मलाई थाहा छ, यो कुनै पार्टी, कुनै नेता वा कुनै स्वार्थी अभियानकर्ताको लागि होइन। यो त तपाईंहरूको सपना, तपाईंहरूको आवाज र तपाईंहरूको भविष्यका लागि हो।


तपाईंहरू सबै २८ वर्ष मुनिका – उमेरले जवान तर सोच र हिम्मतले देशलाई अगाडि बढाउने पुस्ता। तपाईंहरूको लागि म आफैँ पनि केही बुढो भैसकेको महसुस गर्छु। त्यसैले मेरो समर्थन, मेरो मन र मेरो भरोसा तपाईंहरूसँगै छ।


मलाई बुझ्न मन छ – प्रिय Gen Z, तपाईंहरूले कस्तो नेपाल देख्न चाहनुहुन्छ?


के तपाईंहरू यस्तो देश खोज्दै हुनुहुन्छ जहाँ मेहनत गर्नेले अवसर पाओस्?

जहाँ शिक्षा प्रमाणपत्र होइन, भविष्य बनाउने भरपर्दो आधार होस्?

जहाँ राजनीति कुर्सीको खेल होइन, जनताको सेवामा सीमित रहोस्?

जहाँ संस्कृति जोगाउँदै नयाँ प्रविधि र नवीनतालाई आत्मसात् गरियोस्?

जहाँ विदेश जानुपर्ने बाध्यता नभई आफ्नै भूमिमा भविष्य खोज्न सकियोस्?


भोलिको र्‍याली तपाईंहरूको आफ्नै होस्। यसलाई कसैले आफ्नो स्वार्थका लागि कब्जा नगरोस्। कुनै पार्टी, कुनै सांसद, कुनै नेताले तपाईंहरूको आवाज चोर्न नपाओस्।


तपाईंहरू भविष्य हुनुहुन्छ। तपाईंहरूको सपना नै यो देशको बाटो हो।

म तपाईंहरूको कुरा सुन्न तयार छु।

र, तपाईंहरूलाई मेरो भरपुर समर्थन छ।


– बालेन साह


Comments