देशभक्त बाउको कथा जसले आफ्ना व्यक्तिगत रहर र परिवारको सुखभन्दा ठूलो जिम्मेवारी—राष्ट्र निर्माण रोजे। बाउको संघर्ष र छोराको अबोध त्यागले सिर्जना गरेको भावनात्मक पत्र पढ्दा तपाईंको आँखा रसाउनेछ।
छोरा, तिमी मेरो भन्दा धेरै ठूलो त्याग गरिरहेछौ, म त लाहुरेको छोरो भएर हुर्केको, बाजेले मलाई समय दिनुभएको थियो, मेरा रहर पूरा गर्नुभएको थियो तर तिमी देशभक्त बाउको छोरो भएर जन्मियौ र तिम्रो बालापन सामान्य बालबालिकाजस्तो छैन, म तिमीलाई समय दिन सकिरहेको छैन, तिम्रो रहरका खेलौना ल्याउन सकिरहेको छैन, म भ्रष्टाचार र कमिसन खाने मान्छे होइन, त्यसैले पैसा खर्चेर तिम्रो सबै चाहना पुरा गर्न सक्दिनँ, म देश बनाउन
लागिपरेको छु, इमानदार राष्ट्र बनाउन डटिरहेको छु, त्यसैले तिम्रो बालापन बाउबिनाको टुहुरो जस्तै बितिरहेको छ, तिमी आमालाई सोध्छौ रे किन अरूका बाबाले त घुमाउन लैजान्छन् तर मेरो बाबाले किन लैजानु हुन्न, तिम्रो त्यो प्रश्न सुन्दा मेरा आँखा रसाउँछन् तर उत्तर दिन सक्दिनँ, मसँग जवाफ भए पनि तिमीलाई बुझाउन सक्दिनँ, किनभने तिमी अबोध छौ, निर्दोष छौ, म बुझेर त्याग गरिरहेको छु तर तिमी बुझ्नै नपाई त्याग गरिरहेछौ,
त्यसैले तिम्रो त्याग मेरो भन्दा ठूलो छ, I am sorry छोरा, अहिले म तिम्रो लागि राम्रो बाबु बन्न सकिरहेको छैन, तर विश्वास छ जब तिमी ठुलो हुनेछौ तब बुझ्नेछौ कि तिम्रो बाउले रोजेको बाटो गलत थिएन, त्यो दिन तिमी गर्वले आँसु झार्नेछौ, बुझ्नेछौ कि तिम्रो बालापनको पीडाले करोडौं बालबालिकाको भविष्य उज्यालो बनाउन मद्दत गरेको थियो,
त्यसबेला तिमी खुसीले रुनेछौ र त्यो दिन थाहा पाउनेछौ कि तिमी महान छोरा हौ, त्याग गर्ने, सहने, गर्व गर्न सक्ने महान छोरा।

Comments
Post a Comment