सर्वोच्च अदालतले नागा बाबाहरूको निर्वस्त्र परम्परा अश्लील नभएको ठहर

 भाद्र १०, २०८२ 

सर्वोच्च अदालतले महाशिवरात्रि अवसरमा पशुपति क्षेत्रमा हुने नागा बाबाहरूको निर्वस्त्र परम्परा धर्म र हिन्दू संस्कृतिको हिस्सा भएकाले अश्लील नभएको व्याख्या गरेको छ।


महाशिवरात्रिमा पशुपतिमा नागा बाबाहरूको धार्मिक परम्परा प्रदर्शन


सर्वोच्च अदालतले महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा नागा बाबाहरू निर्वस्त्र बस्ने परम्परा अश्लील नभएको स्पष्ट पारेको छ।


न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले यस विषयमा परेको रिट खारेज गर्दै नग्नता र अश्लीलताको व्याख्या सापेक्ष हुने ठहर गरेको हो।


२०७४ माघ २८ गते दायर उक्त रिटमा नागा बाबाहरू सार्वजनिक स्थलमा निर्वस्त्र बस्ने, शरीरको खरानी महिला र बालबालिकालाई लगाइदिने जस्ता कार्यलाई अश्लीलता ठहर गर्दै प्रतिबन्धको माग गरिएको थियो। साथै ती क्रियाकलापले महिला तथा बालबालिकामाथि यौनजन्य हिंसा र नकारात्मक मानसिक असर पर्न सक्ने दाबी गरिएको थियो।


तर, २०८१ भदौ २७ गते सुनाइएको फैसलाको पूर्णपाठमा सर्वोच्चले नागा बाबाको उपस्थिति र गतिविधि सनातन धर्म र हिन्दू संस्कृतिअनुकूल रहेको व्याख्या गरेको छ।


संविधानले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै अदालतले नागा साधुहरूलाई पशुपति क्षेत्रमा प्रवेश निषेध गर्नु उनीहरूको धार्मिक अभ्यासमाथि हस्तक्षेप हुने बताएको छ।


Comments