इजरायली राष्ट्रपति हेर्जगद्वारा बिपिन जोशीको आमा–दिदीसँग भेट, पीडामा साथ दिने प्रतिबद्धता
इजरायलका राष्ट्रपति आइज्याक हेर्जगले नेपालका युवा विद्यार्थी बिपिन जोशीकी आमा र दिदीसँग भेट गरेर गहिरो समवेदना व्यक्त गरेका छन्। भेटका क्रममा उनले जोशी परिवारको पीडा आफ्नै पीडा भएको भन्दै इजरायल सरकार र जनताले सदैव साथ दिने आश्वासन दिए।
राष्ट्रपति हेर्जगले भने,
“हामी तपाईंहरूको पीडामा साथ दिन्छौं। जबसम्म हरेक बन्दी सुरक्षित आफ्नै घर फर्किँदैन, तबसम्म हाम्रो प्रयास रोकिने छैन। हामी तपाईंहरूको आँसु सँगै बगाउँछौं।”
२२ वर्षको उमेरमै नेपालबाट इजरायल आएका बिपिन कृषि अध्ययन गर्दै थिए। उनको सपना थियो– आधुनिक कृषि ज्ञान लिएर नेपाल फर्कने र आफ्नै मातृभूमिको भूमिमा केही योगदान गर्ने। तर नियतिको कठोर खेलमा उनको जीवन पीडामय यात्रामा परिणत भयो।
राष्ट्रपति हेर्जगले थपे,
“बिपिन मात्र तपाईंहरूको छोरा होइन, उहाँ नेपाल र इजरायल दुवैका लागि प्रेरणा हुनुहुन्थ्यो। उहाँको सपना र संघर्षलाई हामीले कहिल्यै बिर्सने छैनौं।”
भेटका क्रममा बिपिनकी आमा र दिदीको आँसु झरेको देखेर राष्ट्रपति स्वयं भावुक बनेका थिए। परिवारले अन्तर्राष्ट्रिय समुदायसँग अझै बढी सहयोग र दबाबको अपेक्षा गरेका छन्, ताकि बिपिनसहित सबै बन्दी छिट्टै सुरक्षित घर फर्कन सकून्।

Comments
Post a Comment